खैरहनी, चितवन । “सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन” भन्ने नाराका साथ विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा खैरहनी नगरपालिका क्षेत्रमा आइतबार बजार अनुगमन गरिएको छ।
उद्योग तथा वाणिज्य कार्यालय चितवनका प्रमुख विनोद पौडेलको नेतृत्वमा गरिएको अनुगमनमा खैरहनी नगरपालिकाकी उपप्रमुख कविता उप्रेती, चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्मा गौतम, उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष कुमार खनाल, उद्योग संघ खैरहनी इकाइकी अध्यक्ष प्रतिमा श्रेष्ठ, खाद्य तथा गुण नियन्त्रण कार्यालय चितवनका प्रमुख प्रमोदचन्द्र पौडेल, उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका अध्यक्ष विष्णुप्रसाद भुसाल, चितवन उद्योग संघका निवर्तमान उपाध्यक्ष युवराज पाठक, उद्योग वाणिज्य संघ खैरहनीका उपाध्यक्ष रामेश्वर पोखरेल तथा खैरहनी नगरपालिकाका अधिकृत रमेश पौडेल लगायतको सहभागिता रहेको थियो।
त्यस्तै उद्योग वाणिज्य संघ खैरहनीका पदाधिकारी तथा सदस्यहरू, इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी नायब निरीक्षक लालबहादुर गुरुङ सहित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थितिमा अनुगमन सम्पन्न गरिएको हो।
अनुगमन टोलीले खैरहनी नगरपालिका–८ क्षेत्रमा सञ्चालित चितवन मिट सप्लायर्स, आरके मिट सप्लायर्स, न्यु सुलभ फ्रेस हाउस, रुचि तन्दुरी रेस्टुरेन्ट, पाण्डे ट्रेडर्स लगायत करिब एक दर्जन व्यवसायिक प्रतिष्ठानको स्थलगत निरीक्षण गरेको थियो।
निरीक्षणका क्रममा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरी व्यवसाय सञ्चालन गरेको पाइएपछि चितवन मिट सप्लायर्स र न्यु सुलभ मिक्स सप्लायर्सलाई २५/२५ हजार रुपैयाँ जरिमाना गरिएको अनुगमन टोलीले जनाएको छ। ती प्रतिष्ठानले आवश्यक मापदण्ड पालना नगरेको तथा सरसफाइ र व्यवस्थापनमा लापरवाही गरेको पाइएपछि कारबाही गरिएको हो।
अन्य केही व्यवसायिक प्रतिष्ठानमा भने सामान्य प्रकृतिका त्रुटि भेटिएकाले सुधारका लागि एकपटकका लागि चेतावनी दिइएको बताइएको छ।
कार्यक्रममा बोल्दै उद्योग तथा वाणिज्य कार्यालय चितवनका प्रमुख विनोद पौडेलले उपभोक्ताको अधिकार संरक्षणका लागि यस्ता अनुगमन कार्यक्रमलाई निरन्तरता दिइने बताए। उनले व्यवसायीलाई कानुनी मापदण्ड पालना गर्दै सुरक्षित र गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउन आग्रह गरे।
खैरहनी नगरपालिकाकी उपप्रमुख कविता उप्रेतीले उपभोक्ताको स्वास्थ्य र सुरक्षासँग खेलबाड गर्ने कार्य कुनै पनि हालतमा सह्य नहुने स्पष्ट पार्दै बजार व्यवस्थापन र उपभोक्ता संरक्षणका लागि नगरपालिकाले नियमित अनुगमन जारी राख्ने बताइन्।
उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका अध्यक्ष विष्णुप्रसाद भुसालले उपभोक्ता सचेतना बढाउनुका साथै बजारलाई व्यवस्थित बनाउन सरकार, स्थानीय तह र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा गरिएको यस अनुगमनले बजारलाई व्यवस्थित, सुरक्षित र उपभोक्ता मैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।








प्रतिकृया दिनुहोस्