Category: शिक्षा

  • ओलीले भनेः आफूले नजित्ने देखेपछि चुनाव भाँड्न खोज्यो

    ओलीले भनेः आफूले नजित्ने देखेपछि चुनाव भाँड्न खोज्यो

    काठमाडौँ, फागुन ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन भाँड्ने काम गरेको आरोप लगाएका छन्।

    शनिबार बिहान झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाङमा एमालेको सूर्य चिह्न भएको झन्डा जलाएको विषय घटनामा रास्वपालाई दोष दिएका हुन्।

    उनले भने, ‘रास्वपाले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित नदेखेपछि योजनाबद्ध रूपमा निर्वाचन भाँड्ने र वातावरण बिगार्ने खेल सुरु गरेको छ।’

    रास्वपाका कार्यकर्ताले अन्य राजनीतिक दलका झन्डाप्रति अभद्र र अमर्यादित व्यवहार देखाउने, चुनावी प्रचारप्रसारमा अवरोध गर्ने र समाजमा तनाव सिर्जना गर्ने काम गरिरहेको आरोप ओलीले लगाएका छन्।

  • शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन : प्रधानमन्त्री कार्की

    शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन : प्रधानमन्त्री कार्की

    पाेखरा । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन् ।

    शुक्रबार पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले समकालीन समाजको आवश्यकताअनुसार सीप, रोजगारी, उद्यमशीलता, नवप्रवर्तन तथा नैतिकवान् जनशक्ति उत्पादनतर्फ उन्मुख हुनुपर्नेमा जोड दिइन् ।

    नवीन प्रविधि विकास, अनुसन्धानमा आधारित प्राज्ञिक क्रियाकलापमा बढावा दिनु आवश्यक रहेको भन्दै उनले विश्वविद्यालयका कार्यक्रमलाई अर्थतन्त्र सुदृढीकरणसँग प्रत्यक्ष जोड्न सक्नुपर्नेमा जोड दिइन् । आर्थिक समृद्धि र मानव कल्याणसँग जोड्न नसकिए ज्ञान वा पाठ्यक्रम सन्दर्भहीन हुने उनको भनाइ थियो ।

    “विश्वविद्यालयको अध्ययन पूरा गर्नासाथ ठूलो सङ्ख्यामा युवा विदेशतर्फ आकर्षित हुनु हाम्रो साझा चिन्ताको विषय हो । त्यसैले नवीन प्रविधि र तीव्र गतिमा बदलिँदो विश्व परिवेशमा आफूलाई कसरी अनुकूल बनाउने, कसरी प्रतिस्पर्धी र सक्षम बनाउनेतर्फ विद्यार्थी र विश्वविद्यालय दुवै केन्द्रित हुन आवश्यक छ”, प्रधानमन्त्री कार्कीले भनिन्।

    उनले परिवर्तनलाई अवसरका रूपमा ग्रहण गर्दै नवप्रवर्तन र उद्यमशीलताको बाटो समात्नु वर्तमान समयको अनिवार्य आवश्यकता भइसकेको बताइन् । स्थापनाकालदेखि नै पोखरा विश्वविद्यालयले व्यवस्थापन, विज्ञानलगायतका क्षेत्रमा उच्च शिक्षाको पहुँच विस्तारमा उल्लेखनीय योगदान पुर्याउँदै आएको भन्दै उनले प्रशंसा गरिन् ।

    “अब गुणस्तरीयतामा ध्यान केन्द्रित गर्दै विश्व बजारको माग अनि प्रतिस्पर्धामा खरो उत्रन सक्ने जनशक्ति र ज्ञानको उत्पादनमा विशेष मेहनत गर्नुपर्ने देखिन्छ”, प्रधानमन्त्री कार्कीले भनिन्,“दीक्षार्थीले प्राप्त गर्नुभएको प्रमाणपत्र रोजगारीको आधार मात्र होइन, यो नेपाली समाज र राष्ट्रका जटिल समस्या पहिचान गरी तिनका दीर्घकालीन समाधान खोज्न सक्ने क्षमताको द्योतक पनि हो । त्यसमा सफल बन्नुपर्छ ।”

    प्रधानमन्त्री कार्कीले आजको युगमा युवा नै राजनेता, प्रशासक, नीति–निर्माता र समाज रूपान्तरणका अभियन्ता रहेको भन्दै त्यसको जग आजैबाट मजबुत बनाउनुपर्ने धारणा राखिन् । उनले गत भदौ २३ र २४ गते जेनजी युवाले उठाएका आवाजहरू पनि धेरै गहन र आधारभूत सवालसँग जोडिएका बताइन्।

  • रिड नेपालको सहकार्यमा चितवनका ४ पुस्तकालयबीच ट्याग परियोजना सम्झौता

    रिड नेपालको सहकार्यमा चितवनका ४ पुस्तकालयबीच ट्याग परियोजना सम्झौता

    चितवन, फाल्गुण ४ । किशोर किशोरीहरूको क्षमता अभिवृद्धि तथा नेतृत्व विकास गर्ने उद्देश्यसहित “टेक एज गर्ल (TAG) परियोजना” को सम्झौता तथा हस्ताक्षर कार्यक्रम सौराहा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, सौराहा चितवनमा सम्पन्न भएको छ।

    परियोजना रिड नेपाल र विभिन्न सामुदायिक पुस्तकालयहरूको सहकार्यमा सञ्चालन हुने बताइएको छ। हालका लागि १५ महिनाको अवधि निर्धारण गरिएको यस परियोजनाले १३ देखि १९ वर्ष उमेर समूहका किशोरी र किशारलाई विभिन्न प्रविधिमार्फत क्षमता विकास, व्यक्तित्व विकास तथा विभिन्न विषयमा वकालत गर्न सक्ने बनाउने लक्ष्य लिएको छ।

    कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिका सामाजिक विकास समिति संयोजक सोहेन्द्र राज खरेलले यस्ता कार्यक्रमहरूले किशोर किशोरीहरूमा सकारात्मक प्रभाव पार्ने र उनीहरूको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले यस अभियानमा रत्ननगर नगरपालिकाको पूर्ण सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

    विशिष्ट अतिथिहरूमा रत्ननगर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष किरण महत्तो, वडा नं. ५ का वडा अध्यक्ष वालकृष्ण चापागाई, वडा नं. ६ की वडा सदस्य बविता चौधरी तथा वडा नं. ७ का वडा सदस्य कुल प्रसाद आचार्यलगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष वालकृष्ण चापागाई, टरौली सामुदायिक पुस्तकालयका अध्यक्ष सागर मिश्र, झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष अनिल अर्याललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। परियोजनाबारे रिड नेपाल का कार्यक्रम अधिकृत तारा बहादुर थापाले विस्तृत जानकारी गराउनुभएको थियो।

    सम्झौतापत्रमा झुवानी सामुदायिक पुस्तकालय, सौराहा सामुदायिक पुस्तकालय, रत्नमान टेकबहादुर दिव्यज्योती सामुदायिक पुस्तकालय र टरौली सामुदायिक पुस्तकालयका अध्यक्षहरू तथा रिड नेपालका का डिप्युटी डाइरेक्टर चिनकाजी श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो।

    सौराहा सामुदायिक पुस्तकालयका उपाध्यक्ष सुजाता विष्टले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको अध्यक्षता पुस्तकालयका अध्यक्ष ज्ञानेन्द्र कुमार विष्टले गर्नुभएको थियो। कार्यक्रम सञ्चालन पुस्तकालयका व्यवस्थापक लक्ष्मी विडारीले गर्नुभएको थियो।