सुनसरी — जिल्लाका दर्जनौँ ताल तथा सिमसार क्षेत्रमध्ये रास ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण बनेको छ। रामधुनी नगरपालिका–७ मा अवस्थित यो ताल प्राकृतिक सौन्दर्य, फराकिलो फाँट र चारकोसे झाडीको घेरामा शान्त रूपमा फैलिएको छ, जहाँ दैनिक रूपमा पर्यटकको उल्लेख्य घुइँचो लाग्ने गरेको छ।
अन्य तालभन्दा फरक विशेषता बोकेको रास तालमा मनोरम दृश्यावलोकनसँगै दिनभर फिसिङ (माछा मार्ने) सुविधा उपलब्ध हुनु मुख्य आकर्षण बनेको छ। यही कारणले धरान, इटहरी, विराटनगर, धनकुटा, वीरगन्जदेखि भारतका विभिन्न स्थानसम्मबाट समेत पर्यटक यहाँ पुग्ने गरेका छन्।
वनभोजका लागि उपयुक्त मानिएको यस क्षेत्रमा एकैपटक १४५ समूहसम्मलाई व्यवस्थापन गर्न सकिने संरचना तयार गरिएको छ। पिकनिक सिजनमा दैनिक ८ देखि १० हजार पर्यटक पुग्ने गरेका छन् भने अफसिजनमा पनि दैनिक दुई–तीन सय पर्यटक आउने गरेको रास ताल व्यवस्थापन समितिका सचिव भीमबहादुर माझीले जानकारी दिए। विशेषगरी मङ्सिर, पुस, वैशाख र जेठ महिनामा पर्यटकको चाप बढी हुने गरेको छ।
६१ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनभित्र करिब ८ हेक्टरमा अवस्थित यस ताललाई राष्ट्रिय विभूति इमानसिंह चेम्जोङसँग जोडेर २०७१ सालदेखि स्थानीय पहलमा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न थालिएको हो। कोशी प्रदेश पर्यटन मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ मा विनियोजन गरेको ८० लाख रुपैयाँबाट यहाँ भ्यूटावर, चेम्जोङको सालिक तथा २९ हेक्टर क्षेत्रमा तारबार निर्माण गरिएको छ। साथै, विभिन्न जातजातिको प्रतिनिधित्व गर्ने नमुना मठमन्दिर, सांस्कृतिक झाँकी र सङ्ग्रहालयसमेत निर्माण गरिएको छ।
यहाँ रु ३०० शुल्कमा बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म माछा मार्न पाइने व्यवस्था छ। पर्यटकले समातेको माछा आफैं लैजान पाउँछन्, जहाँ कतिपयले १० किलोसम्म माछा समातेका छन्। तालमा कमलकार, ग्रास, रहु, नौनीलगायत सात प्रजातिका माछा पाइन्छन्।
रास तालमा बोटिङ सुविधा पनि उपलब्ध छ भने सानो चिडियाघरमा खरायो, हुचिल, चिल, बाँदर र अजिङ्गरजस्ता जीवजनावर अवलोकन गर्न सकिन्छ। पर्यटकीय आकर्षण थप्न तालको बीचमा करिब १५ लाख लागतमा टापु निर्माण गरिएको छ, जसलाई तीनवटा काठका पुलमार्फत जोडिएको छ। साथै, दुर्लभ सल्ला र सिरिसका बिरुवा रोपेर वातावरणीय सौन्दर्य बढाइएको छ।
करिब २५ लाख लागतमा निर्माण गरिएको मुख्य प्रवेशद्वार र ट्री हाउसबाट सम्पूर्ण तालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। पिकनिक र बोटिङबाट वार्षिक रूपमा ६–७ लाख रुपैयाँ आम्दानी हुने गरेको समितिले जनाएको छ, जुन रकम ताल संरक्षण तथा पूर्वाधार विकासमा खर्च हुँदै आएको छ।
स्थानीय व्यापारीका अनुसार पर्यटकको बढ्दो आगमनले आसपासका खाजा–नास्ता पसल तथा साना व्यवसायमा समेत सकारात्मक प्रभाव परेको छ। यद्यपि, बजेट अभावका कारण केही पूर्वाधार अझै अधुरो रहेकाले प्रदेश तथा स्थानीय सरकारबाट थप लगानी आवश्यक रहेको स्थानीयको भनाइ छ।
पर्यटकीय दृष्टिले महत्त्वपूर्ण गन्तव्यका रूपमा स्थापित हुँदै गएको रास ताललाई दीर्घकालीन रूपमा आर्थिक समृद्धिको आधार बनाउन सकिने सम्भावना देखिएको छ।








प्रतिकृया दिनुहोस्