काठमाडौँ — वैदेशिक रोजगारीका लागि आवेदन दिएका श्रमिकले अब एकै दिनमै श्रम स्वीकृति पाउने भएका छन्। सरकारले श्रम स्वीकृतिमा लागू टोकन प्रणाली खारेज गर्दै आवेदन दिएको दिनमै स्वीकृति दिने व्यवस्था गरेको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार अब पूर्वप्रस्थान अभिमुखीकरण तालिम पनि पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालन गरिनेछ। तालिमसम्बन्धी श्रव्य–दृश्य सामग्री डिजिटल माध्यमबाट उपलब्ध गराइनेछ।
मन्त्री दीपककुमार साहको उपस्थितिमा बसेको बैठकले सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई आबद्ध गराउने, न्यूनतम ज्यालाको कार्यान्वयन सुनिश्चित गर्ने र वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा, कार्य वातावरण तथा स्वास्थ्य अवस्थाबारे अध्ययन गरी न्यूनतम मापदण्ड तय गर्ने निर्णय समेत गरेको छ।
यसैगरी, सीप विकास तालिममार्फत रोजगारीमा जोड्ने, श्रमाधान कल सेन्टरलाई थप प्रभावकारी बनाउने, औद्योगिक क्षेत्रमा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा प्रवर्द्धन गर्ने तथा थप पाँच देशसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने निर्णय पनि गरिएको मन्त्रालयले जनाएको छ।








प्रतिकृया दिनुहोस्