चितवन — कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले संयुक्त राज्य अमेरिका स्थित High Point सहरका मेयर Cyril Jefferson सँग भेटवार्ता गरी द्विपक्षीय सहकार्य विस्तार गर्ने पहल गरेका छन्।
भेटका क्रममा कालिका नगरपालिका र High Point सिटीबीच प्रविधि, दिगो विकास तथा शहरी व्यवस्थापनसम्बन्धी अनुभव आदानप्रदान गरिएको थियो। मेयर रेग्मीले कालिका नगरपालिकामा कार्यान्वयन हुँदै आएका स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण तथा फोहर व्यवस्थापनका कार्यक्रमहरूबारे जानकारी गराउँदै ती क्षेत्रमा सहकार्यको प्रस्ताव राखेका थिए।
सो प्रस्तावप्रति High Point सिटीका मेयर Jefferson ले सकारात्मक प्रतिक्रिया जनाएका छन्। दुवै पक्षबीच आगामी दिनमा सहकार्यलाई थप विस्तार गर्दै दीर्घकालीन सम्बन्ध विकास गर्ने सहमति भएको छ।
भेटका क्रममा दुवै नगरपालिकाबीच मायाको चिनो आदानप्रदान गर्नुका साथै कालिका नगरपालिकाको तर्फबाट अमेरिकी टोलीलाई नेपाल भ्रमणको निम्तो समेत दिइएको छ। मेयर Jefferson ले उक्त निमन्त्रणाप्रति खुशी व्यक्त गर्दै उपयुक्त समयमा आफ्नो टोलीसहित नेपाल आउने र कालिका नगरपालिकासँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। साथै उनले नेपाली टोलीलाई पनि भविष्यमा High Point पुनः भ्रमणको निमन्त्रणा दिएका छन्।
यस भेटघाट कार्यक्रमलाई High Point निवासी बिनय अर्याल लगायत नेपाली समुदायले सहजीकरण गरेका थिए। मेयर रेग्मीले समय उपलब्ध गराई कालिका नगरपालिकालाई महत्व दिएकोमा मेयर Jefferson तथा उनको टोलीप्रति हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।








प्रतिकृया दिनुहोस्