काठमाडौं । देशमा हाल पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभाव देखिएको छ, जसका कारण पहाडी तथा हिमाली भूभागमा बदली र वर्षाको अवस्था बनेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा अहिले नै मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी मधेस प्रदेशसहित कोशी प्रदेशको तराई तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा बदली कायम रहनेछ भने अन्य तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
मौसमविद्हरूले मेघगर्जन र चट्याङबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।








प्रतिकृया दिनुहोस्