रत्ननगर । चितवनको पर्यटकीउ नगरी सौराहामा २०औं संस्करणको सौराहा फुड फेस्टिबल सुरु भएको छ ।
रेवान सौराहाले आयोजना गरेको फुड फेस्टिबलको रत्ननगर नगरपालिकाका उपमेयर यादब प्रसाद पाठकले उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै पर्यटन व्यवसायीहरुले सौराहाको पर्यटन विकासमा राज्यले ध्यान दिन नसकेको बताएका छन् । पर्यटन उद्योग राज्यको अभिन्न अंग हुँदाहुँदै पनि पर्यटन पूर्वाधार निर्माण र पर्यटनमा विविधिकरणमा राज्यले अपेक्षाकृत ध्यान दिन नसकेको रेवान सौराहाका अध्यक्ष शम्भूप्रसाद मालीले बताए ।
सौराहा मुलुकको तेस्रो पर्यटकीय गन्तव्यको रुपमा चित्रण हुँदै गर्दा तीनै तहका सरकारले सोचे जस्तो लगानी नगरेको भन्दै उनले सौराहामा पर्यटन पूर्वाधार निर्माण, सफारी पर्यटनलाई व्यवस्थित गर्न र सडक पूर्वाधार निर्माणमा बजेट विनियोजन गर्नु पर्ने बताए ।

पर्यटन उद्योगको विकास र लगानी सुरक्षामा राज्य गम्भिर हुनुपर्छ उनले भने अनि मात्र व्यवसायी उत्साहित भएर काम गर्ने बाताबरण तयार हुनेछ । कार्यक्रमका प्रमुख अतिथि उपमेयर पाठकले सौराहाको विकासको लागि व्यवसायीहरुको एकता आवश्यक रहेको बताए ।
पर्यटन क्षेत्रको विकासका लागि राज्यले क्षमता अनुसारको लगानी गरिरहेको भन्दै उनले सेवा सुधार र मुल्य निर्धारणमा व्यवसायी सचेत हुनुपर्ने बताए । सौराहा सहित चितवनको पर्यटन प्रर्वद्धनका लागि फेस्टिबल आयोजना गरिएको कार्यक्रम संयोजक कृष्णप्रसाद खतिवडाले बताए ।
“प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता“ भन्ने मूल भावनालाई आत्मसात गर्दै आयोजना हुन लागेको फेस्टिवलले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य लिएको संस्थाका उपाध्यक्ष एवंम् फुड फेष्टिवल संयोजक कृष्णप्रसाद खतिवडाले जानकारी दिए । यसअघि प्रणय दिवसको अवसरमा आयोजना गर्ने पूर्वनिर्धारित कार्यक्रम देशको निर्वाचन गतिविधिका कारण स्थगित गरिएको थियो । सुरक्षा, सहभागिता र व्यवस्थापनमा असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै नयाँ मिति तय गरिएको संयोजक खतिवडाले स्पष्ट पारे । १९ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको सौराहा फूड फेस्टिवलले चितवनको पर्यटन विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । यस वर्षको संस्करणले सुस्ताएको पर्यटन व्यवसायलाई पुनः चलायमान बनाउने र स्थानीय व्यवसायी तथा समुदायमा नयाँ उत्साह थप्ने कार्यक्रम संयोजक खतिवडाले बताए ।
फेस्टिवलका प्रमुख आकर्षणहरूमा बहुजातीय झाँकी प्रस्तुति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक कार्यक्रम, स्थानीय तथा जनजातीय खानाको प्रदर्शनी तथा प्रतियोगिता, साथै वेटर–वेट्रेस प्रतियोगिता रहनेको रेवान सौराहाका महासचिव नविन नेपालले बताए ।
उद्घाटन कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष किरण महतो, रेवानका महासचिव शरदकुमार दाहाल, रेवान सौराहामा पूर्वअध्यक्ष राजन भट्ट, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष विपी चौधरी लगायतले मन्तव्य राखेका थिए । फेस्टिबल उद्घाटन पूर्व सौराहामा भब्य शोभाया निकालिएको थियो ।








प्रतिकृया दिनुहोस्