Category: Banner

  • दुई पाडीबाट आचार्यले थालेको भैँसीपालन व्यावसायिकतातर्फ

    दुई पाडीबाट आचार्यले थालेको भैँसीपालन व्यावसायिकतातर्फ

    गण्डकी। आजभन्दा सात वर्षअघि पोखरा महानगरपालिका–३३ भरतपोखरीका रमेश आचार्यले दुई पाडीबाट सुरु गरेको भैँसीपालनले यतिखेर व्यावसायिक रूप लिएको छ । समाजमा कृषिप्रतिको नकारात्मक सोच कायमै रहेका समयमा स्नातकोत्तरसम्मको अध्ययन गरेका उनले भरतपोखरीस्थित सुरौदीको तिखेढुङ्गामा दुई पाडी पाल्न सुरु गरेका थिए ।

    आचार्यलाई तत्कालीन समयमा आफ्नै छिमेकी, इष्टमित्रसमेतले के गरेको होला भनेर होच्याउँथे, कुरा काट्ने गर्थे । तर समय बदलिएको छ, त्यसबेला होच्याउने र खिस्सीट्युँरी गर्नेहरू अहिले भने उनको फस्टाइरहेको भैँसीपालनसहितको व्यावसायिक कृषि कर्म देखेर लोभिएका छन् । भैँसीपालनले व्यावसायिक रूप लिँदा आचार्य आफैँ आफ्नो पेसाप्रति गौरवान्वित छन् । पाडी पाल्न सुरु गर्दा तिखेढुङ्गामा केवल झाडीमात्र रहेको र त्यसलाई फाँडेर पाल टाँगेर बसेको उनले अनुभव सुनाए ।

    “वरपर जङ्गलको बीचमा पाल टाँगेर मैले यो व्यवसाय सुरु गरेको हुँ”, आचार्यले भने, “पछि गोठ तथा धन्सार बनाएर त्यसलाई व्यवस्थित गर्दै लगेँ, अहिले गोठमा ३० भैँसी छन् ।”

    पछिल्ला समयमा हरेक वर्ष लैनो भैँसी बेच्ने गरेको आचार्यले बताए । उनले अघिल्लो वर्ष १८ लैनो भैँसी बेचे । भैँसी बिक्री गर्न समस्या छैन । सामान्यतः एउटा लैनो भैँसी रु एक लाखसम्ममा बिक्री हुने गरेको छ । स्नातक तहसम्मको अध्ययन गरेका आचार्य आफ्नो १० वर्षको शिक्षण पेसा, तीन वर्षको वैदेशिक रोजगारीसँगै विद्युत् प्राविधिकसमेतको अनुभव सँगाल्दै अहिले पूर्ण रूपमा व्यावसायिक कृषिमा लागेका छन् ।

    विसं २०७८ मा तिखेढुङ्गा बागमारा पशुपालन तथा कृषि फार्म दर्ता गरी व्यावसायिक कृषि कर्ममा लागेका आचार्यले भैँसीपालनसँगै व्यावसायिक रूपमा तरबुजाखेतीसहित तरकारी, फलफूल तथा विभिन्न कृषिजन्य उत्पादन गर्दै आएका छन् । फार्ममा उनले हाल मकैखेती, तरबुजा, काँक्रो, लसुन, प्याजलगायत गरिरहेका छन् । आचार्यले सुरुमा २०७६ सालमा साना किसानबाट रु तीन लाख ऋण लिएर व्यावसायिक कृषि थालेकामा पछि फार्म दर्ता भएपश्चात कृषि विकास बैंकबाट ऋण लिएर आफ्नो व्यावसायिक यात्रा सुरु गरेका हुन् ।

    व्यावसायिक कृषिमा नयाँनयाँ प्रयोग गर्न रुचाउने आचार्यले सुरुमा १५–२० बोट तरबुजाखेती परीक्षणका रूपमा गरे । अर्को वर्ष दुई रोपनी क्षेत्रफलमा थपे । राम्रो उत्पादन दिएपछि अघिल्लो वर्ष करिब ३५ रोपनी क्षेत्रफलमा संयुक्त रूपमा उक्त खेती गरे । श्रीमती धनलक्ष्मी, स्नातक तहमा अध्ययनरत छोराछोरीको साथले आचार्य आफ्नो कृषिकर्मप्रति उत्साहित छन् । सुरौदी खोलाको बाढीले बर्सेनि कटान भइरहेकाले नियन्त्रणसँगै यहाँको पानीलाई सिँचाइका लागि उपयोग गरिनुपर्ने उनी बताउँछन् ।

    खोलामा पक्की पुल तथा बाटो व्यवस्थित नहुँदा दूध बजारसम्म पुर्याउन नसकिएको आचार्यले दुखेसो गरे । बाँदरको समस्या सुरौदीमा पनि उस्तै छ । फार्ममा उत्पादित कृषिजन्य वस्तु भरतपोखरीमा नै खपत हुने गरेको आचार्यको भनाइ छ । सुरौदीसम्मको बाटो थप व्यवस्थित गर्नुका साथै टुनिखोलामा पुल बन्न सके उत्पादित वस्तु पोखरा तथा तनहुँको दुलेगौँडा पुर्याउन सहज हुने उनले बताए ।

    सुरौदी खोला क्षेत्रमा पानीको स्रोत भएर पनि त्यसलाई व्यवस्थित गर्न नसक्दा सिँचाइको असुविधा भोग्नुपरेको आचार्य बताउँछन् । व्यवस्थित गर्न सके मात्रै पनि यहाँ उपलब्ध पानीको स्रोतलाई उत्पादनसँग जोड्न सकिने उनले बताए । सुरौदी खोलाको कटान नियन्त्रण हुन नसक्दा उब्जाउयोग्य जमिन बर्सेनि बगरमा परिणत हुँदै जाँदा जलाधार क्षेत्रका स्थानीयवासी समस्यामा परेको आचार्यको भनाइ छ ।

  • मणिका धाममा परम्परागत मेला लाग्ने

    मणिका धाममा परम्परागत मेला लाग्ने

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मणिका धाम (मुडका)मा लाग्ने परम्परागत मेला (जाँत)को तयारी पूरा भएको छ । यही फागुन १३ र १४ गते आयोजना हुने मेलाका लागि मन्दिर परिसरमा सरसफाइ, सडक मर्मत तथा व्यवस्थापनका कार्य सम्पन्न गरिएको हो ।

    वैजनाथ धार्मिक तथा पर्यटकीय विकास समितिका अनुसार मेला व्यवस्थित र सुरक्षित बनाउन पूर्वतयारीलाई तीव्रता दिइएको छ । मन्दिर परिसरभन्दा तल्लो क्षेत्रमा व्यापारिक प्रयोजनका लागि पसल राख्न मैदान सम्याउने, झाडी सरसफाइ गर्ने र आवश्यक संरचना मिलाउने कार्य सम्पन्न गरिएको समितिले जनाएको छ ।

    दर्शनार्थीको सहज आवागमनका लागि सवारीसाधन पार्किङस्थल निर्धारण गरिएको छ । “मन्दिर परिसर र त्यस आसपास क्षेत्रलाई दर्शनार्थीका लागि छुट्याएका छौँ”, समितिका अध्यक्ष पुरन हमालले भने, “मेला क्षेत्रमा मदिरा पूर्ण रूपमा निषेध गरिएको छ ।”

    दर्शनार्थीका सवारीसाधन आवतजावत गर्ने सडक मर्मतको कार्य अगाडि बढाइएको अध्यक्ष हमालले जानकारी दिए । खानेपानीको पनि उचित प्रबन्ध गरिएको उनको भनाइ छ । शान्ति, सुरक्षालाई प्राथमिकतामा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरिएको जनाइएको छ । मेला अवधिभर अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा व्यवस्था कडा पारिने उनले उल्लेख गरे ।

    ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र महिलालाई मन्दिरमा दर्शनका लागि प्राथमिकता दिने निर्णय गरिएको समितिका कोषाध्यक्ष डम्बरबहादुर ऐरले बताए ।

    हरेक वर्ष फागुन शुक्ल पक्षको नवमीको राति र दशमीको दिन दिउँसो मुडकामा मेला लाग्ने परम्परा छ । मेलाका अवसरमा स्थानीय सरकारले सार्वजनिक बिदा दिने गरेको छ । धार्मिक तथा पर्यटकीय दृष्टिले जिल्लाकै महत्त्वपूर्ण गन्तव्यका रूपमा मुडकालाई लिइन्छ ।

    मुडकास्थित बैजनाथ बाबाको दर्शन गरेमा इच्छित फल प्राप्त हुने जनविश्वास रहिआएकाले मेलामा नेपाल र भारतका हजारौँ दर्शनार्थी सहभागी हुने गर्दछन् । यस अवसरमा व्यापारीको ठूलो जमघटसमेत हुने गर्दछ ।

    मुडका क्षेत्रमा सिद्धबाबाको प्राचीन मन्दिर तथा मन्दिर नजिकै तलाउ छ । मन्दिर परिसर नजिकै हाल रु दुई करोड बढीको लागतमा आधुनिक शैलीको भजनघर निर्माण गरिएको छ । पहिलोपटक मन्दिर क्षेत्रमा विद्युत् सेवा विस्तार गरिएको छ ।

    पूर्वपश्चिम राजमार्गबाट झण्डै ११ किलोमिटर उत्तर चुरेको फेदीमा अवस्थित यो क्षेत्र प्राचीनकालदेखि नै पहाडी क्षेत्रबाट चौपायासहित हिउँदमा बसाइँ सर्नेहरूको आश्रयस्थलका रूपमा परिचित रहेको स्थानीय बासिन्दा बताउँछन् ।

  • आज फागुन  १० गते, आइतबार तपाईंको राशिफल

    आज फागुन १० गते, आइतबार तपाईंको राशिफल

    मेष

    आज तपाईंका लागि समय अनुकूल देखिन्छ। लामो समयदेखि प्रतीक्षा गरिरहनुभएको कुनै अवसर अचानक प्राप्त हुन सक्छ। पेशागत क्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्ने संकेत छ, जसले भविष्यमा तपाईंको प्रतिष्ठा र पदोन्नतिमा सहयोग पुर्‍याउनेछ। सामाजिक कार्यक्रममा सहभागी हुँदा प्रभावशाली व्यक्तिसँग चिनजान बढ्ने सम्भावना छ। आर्थिक पक्ष सन्तुलित रहनेछ, तर खर्च व्यवस्थापनमा ध्यान दिनु राम्रो हुन्छ। पारिवारिक वातावरण सुखद रहनेछ र दाम्पत्य जीवनमा समझदारी बढ्नेछ।

    वृष

    आज निर्णय गर्दा हतार नगर्नु नै बुद्धिमानी हुनेछ। कसैले आकर्षक प्रस्ताव राखे पनि त्यसको दीर्घकालीन प्रभावबारे गहिरो मूल्यांकन गर्नु आवश्यक छ। आर्थिक लाभ सामान्य रहने देखिए पनि अनावश्यक खर्च बढ्न सक्छ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्छ, जसका कारण केही तनाव अनुभव हुन सक्छ। परिवारसँग समय बिताउँदा मानसिक शान्ति प्राप्त हुनेछ। स्वास्थ्यमा सामान्य थकान देखिन सक्छ, त्यसैले पर्याप्त आराम गर्नु उपयुक्त हुन्छ।

    मिथुन

    आम्दानीका स्रोत विस्तार हुने संकेत देखिन्छ। व्यापार वा सेवाक्षेत्रमा संलग्न व्यक्तिहरूका लागि लाभदायक सम्झौता हुन सक्छ। साझेदारीमा काम गर्नेहरूलाई सकारात्मक नतिजा प्राप्त हुने सम्भावना छ। नयाँ योजना सुरु गर्नका लागि समय उपयुक्त छ। विद्यार्थीहरूका लागि अध्ययनमा प्रगति हुने देखिन्छ। प्रेम सम्बन्धमा विश्वास र समझदारी बढ्नेछ। स्वास्थ्य सन्तोषजनक रहनेछ, तर खानपानमा संयमता अपनाउनु राम्रो हुनेछ।

    कर्कट

    आज कार्य सम्पन्न गर्न दोहोरिएको प्रयास आवश्यक पर्न सक्छ। केही काम अपेक्षा गरेअनुसार अघि नबढे पनि धैर्य राख्नुपर्छ। सहकर्मी वा परिवारका सदस्यसँग सानो मतभेद हुन सक्छ, तर संवादमार्फत समाधान सम्भव छ। स्वास्थ्यमा साना समस्या जस्तै टाउको दुखाइ वा थकान देखिन सक्छ। ध्यान वा योग अभ्यासले लाभ पुर्‍याउनेछ। आर्थिक रूपमा सामान्य दिन रहनेछ।

    सिंह

    आजको मेहनतले भविष्यमा राम्रो फल दिने संकेत छ। नेतृत्व क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा तपाईंको सुझावलाई महत्व दिइनेछ। साथीभाइको सहयोगले आत्मविश्वास बढ्नेछ। आर्थिक पक्ष मजबुत बन्ने सम्भावना छ। प्रेम सम्बन्धमा मधुरता कायम रहनेछ। नयाँ सीप सिक्न वा तालिम लिनका लागि समय उपयुक्त देखिन्छ।

    कन्या

    महत्वपूर्ण कार्यहरू सफलतापूर्वक सम्पन्न हुनेछन्। व्यापारिक गतिविधिमा लाभसँगै प्रतिष्ठा वृद्धि हुने समय छ। कार्यक्षेत्रमा तपाईंको मेहनतको प्रशंसा हुन सक्छ। पारिवारिक जीवन सुखद रहनेछ र कुनै शुभ समाचार प्राप्त हुन सक्छ। आर्थिक अवस्था सुधारोन्मुख रहनेछ। स्वास्थ्यमा सुधार देखिए पनि नियमित व्यायामलाई निरन्तरता दिनु आवश्यक छ।

    तुला

    आज स्वास्थ्य सन्तोषजनक रहनेछ। प्रियजनसँग भेटघाट वा सानो यात्राको अवसर मिल्न सक्छ। दाम्पत्य जीवनमा मधुरता बढ्नेछ। कार्यक्षेत्रमा सहकार्यबाट सफलता मिल्नेछ। आर्थिक पक्ष स्थिर रहनेछ। कला, साहित्य वा सृजनात्मक क्षेत्रमा रुचि बढ्ने संकेत छ। मानसिक सन्तुलन कायम राख्न सकारात्मक सोच अपनाउनु राम्रो हुनेछ।

    वृश्चिक

    परिस्थितिहरू केही चुनौतीपूर्ण बन्न सक्छन्। निर्णय लिनु अघि गहिरो सोचविचार आवश्यक छ। कार्यक्षेत्रमा प्रतिस्पर्धा बढ्न सक्छ, तर तपाईंको दृढताले सफलता दिलाउनेछ। आर्थिक पक्षमा सावधानी अपनाउनु राम्रो हुनेछ। परिवारको साथ र समर्थनले मनोबल उच्च राख्नेछ। स्वास्थ्यमा साना समस्या देखिन सक्छन्, त्यसैले नियमित जाँच र सावधानी आवश्यक छ।

    धनु

    सुखद समाचारले उत्साह बढाउनेछ। बौद्धिक र शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगति सम्भावित छ। नयाँ अवसर प्राप्त हुन सक्छ जसले करियरमा सकारात्मक परिवर्तन ल्याउनेछ। आर्थिक लाभको संकेत छ। मित्रसँगको सहकार्यले लाभ मिल्नेछ। आध्यात्मिक गतिविधिमा रुचि बढ्न सक्छ। यात्रा सम्बन्धी योजना सफल हुन सक्छ।

    मकर

    बल र बुद्धिको संयोजनले सफलता दिलाउनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा विजय प्राप्त हुने सम्भावना छ। कार्यक्षेत्रमा उच्च अधिकारीको समर्थन मिल्नेछ। आर्थिक पक्ष सबल रहनेछ। पारिवारिक जिम्मेवारी पूरा गर्न सफल हुनुहुनेछ। स्वास्थ्य सामान्य रहनेछ, तर तनाव व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ।

    कुम्भ

    धन लाभको सम्भावना प्रबल छ। सामाजिक मान्यता बढ्नेछ र पहिले रोकिएका कार्यहरू सम्पन्न हुनेछन्। नयाँ सम्बन्ध विस्तार हुन सक्छ। कार्यक्षेत्रमा सृजनात्मक सोचले सफलता दिलाउनेछ। पारिवारिक सहयोगले आत्मविश्वास बढ्नेछ। स्वास्थ्यमा सामान्य सुधार देखिनेछ।

    मीन

    अपेक्षित परिणाम प्राप्त नहुन सक्छ, त्यसैले धैर्य आवश्यक छ। अनावश्यक खर्च बढ्न सक्ने भएकाले बजेट व्यवस्थापन गर्नु उपयुक्त हुनेछ। कार्यक्षेत्रमा अतिरिक्त प्रयास आवश्यक पर्न सक्छ। परिवारको साथले मानसिक सन्तुलन कायम राख्न सहयोग पुर्‍याउनेछ। स्वास्थ्यमा सन्तुलित आहार र पर्याप्त विश्राम आवश्यक छ। आध्यात्मिक अभ्यासले सकारात्मक ऊर्जा प्रदान गर्नेछ।

  • ओलीले भनेः आफूले नजित्ने देखेपछि चुनाव भाँड्न खोज्यो

    ओलीले भनेः आफूले नजित्ने देखेपछि चुनाव भाँड्न खोज्यो

    काठमाडौँ, फागुन ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन भाँड्ने काम गरेको आरोप लगाएका छन्।

    शनिबार बिहान झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाङमा एमालेको सूर्य चिह्न भएको झन्डा जलाएको विषय घटनामा रास्वपालाई दोष दिएका हुन्।

    उनले भने, ‘रास्वपाले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित नदेखेपछि योजनाबद्ध रूपमा निर्वाचन भाँड्ने र वातावरण बिगार्ने खेल सुरु गरेको छ।’

    रास्वपाका कार्यकर्ताले अन्य राजनीतिक दलका झन्डाप्रति अभद्र र अमर्यादित व्यवहार देखाउने, चुनावी प्रचारप्रसारमा अवरोध गर्ने र समाजमा तनाव सिर्जना गर्ने काम गरिरहेको आरोप ओलीले लगाएका छन्।

  • गोरखामा बसको ठक्करबाट ९५ वर्षीया वृद्धाको मृत्यु

    गोरखामा बसको ठक्करबाट ९५ वर्षीया वृद्धाको मृत्यु

    गोरखा । गोरखामा यात्रुवाहक बसको ठक्करबाट ९५ वर्षीया वृद्धाको मृत्यु भएको छ । शनिबार दिउँसो २ बजे गोरखा नगरपालिका वडा नं १२ स्थित दशकिलो बजारमा बसले ठक्कर दिँदा स्थानीय ९५ वर्षीया सुकमाया लामाको मृत्यु भएको हो ।

    काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको ना ५ ख ५०३० नं को बसले ठक्कर दिँदा गम्भीर घाइते लामाको उपचारका क्रममा प्रदेश अस्पताल गोरखामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।
    प्रहरीले चालक र सवारी साधनलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

     

  • नेकपा संयुक्त चितवन ३ का उम्मेदवार जित बहादुर सुनार नेकपा प्रवेश

    नेकपा संयुक्त चितवन ३ का उम्मेदवार जित बहादुर सुनार नेकपा प्रवेश

    भरतपुर ८ फागनु । नेकपा संयुक्त चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार जित बहादुर सुनार नेपाली कम्युनिष्ट पार्टी नेकपा प्रवेश गरेका छन् ।शुक्रबार भरतपुरमा भएका एक कार्यक्रमका बीच नेकपा संयुक्त परित्याग गरी सुनार नेकपा प्रवेश गरेका हुन् ।

    सुनारलाई नेपाली कम्युनिष्ट पार्टीका नेता तथा चितवन निर्वाचन क्षेत्र नम्बर ३ का चुनावी कमाण्डर ईश्वरी भट्टराईले टिका तथा खादा लगाएर स्वागत गरेका थिए ।

    सो अवसरमा प्रवेशी सुनारले कम्यूनिष्ट आन्दोलनको एकीकरण र विकास प्रेमी रेनु दाहालको विजयी यात्रामा सहयोग पूर्याउन आफूले उमेद्वारी फिर्ता लिई नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेको बताउँदै आजैबाट तारा चुनाव चिन्हमा मत माग्दै रेनु दिदी विजयी अभियानमा दृढताका साथ लाग्ने बताए । नेकपा संयुक्तका अन्य साथीहरूलाई पनि प्रवेश गराउदै जाने बताए ।

    सो अवसरमा चितवन क्षेत्र नम्बर ३ का सशक्त उम्मेदवार रेनु दाहालले प्रत्यासी उम्मेदवार सुनारले आफ्नो उम्मेदवारी फिर्ता लिदै सहयोग गर्नुभएकोमा धन्यवाद दिदै नपाली कम्युनिष्ट पार्टीमा स्वागत गरिन् ।

    पार्टी प्रवेश कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेता तथा निर्वाचन क्षेत्र नम्बर ३ का ईन्चार्ज इश्वरी भट्टराई, चितवन जिल्ला ईन्चार्ज घनश्याम दाहाल, जिल्ला संयोजक रामचन्द्र अधिकारी लगायतका नेताहरूको उपस्थिती रहेको थियो ।सुनारको उमेद्वारी फिर्ता र पार्टीमा समाहित सँगै चितवन क्षेत्र न ३ मा विकास प्रेमी उम्मेदवार रेनु दाहालको जित निश्चित हुँदै गएको छ ।

  • किम जोङद्वारा उत्तर कोरियाली जनताको जीवनस्तर सुधार्ने वाचा

    किम जोङद्वारा उत्तर कोरियाली जनताको जीवनस्तर सुधार्ने वाचा

    उत्तर कोरिया । उत्तर कोरियाली नेता किम जोङ उनले शुक्रबार सुरु भएको दुर्लभ वर्कर्स पार्टी सम्मेलनको उद्घाटन गर्दै जनताको जीवनस्तर सुधार्ने र राष्ट्रको आर्थिक विकास तीव्र पार्ने प्रतिज्ञा गरेका छन् । सम्मेलनले प्योङयाङमा राज्यको सबै क्षेत्रमा निर्देशन र कार्यान्वयनका योजना प्रस्तुत गर्ने अवसर प्रदान गरेको बताइएको छ ।

    किमले भाषणमा भने, “हाम्रो पार्टीले आर्थिक निर्माण र जनताको जीवनस्तर सुधार गर्दै राज्य र सामाजिक जीवनका सबै क्षेत्रलाई छिटो रूपान्तरण गर्न आवश्यक ऐतिहासिक कार्यहरूको सामना गरिरहेको छ ।” उनले सक्रिय र निरन्तर प्रयास बिना कुनै ढिलाइ स्वीकार्य नहुने पनि जोड दिए ।

    पछिल्ला दशकमा उत्तर कोरियाले आणविक हतियार र सैन्य क्षमता प्राथमिकता पाएको थियो, जसले खाद्यान्न अभाव र आर्थिक कठिनाइ निम्त्याएको थियो । तर किमले सन् २०११ मा सत्ता सम्हालेपछि गरिब राष्ट्रको अर्थतन्त्र बलियो बनाउने र नागरिकको जीवनस्तर सुधार्नेमा जोड दिएका छन् । सन् २०२१ को सम्मेलनमा उनले ‘लगभग सबै क्षेत्रमा गल्ती’ भएको दुर्लभ सार्वजनिक स्वीकार गरेका थिए ।

    विश्लेषकहरूले यस भाषणलाई खाद्यान्न अभाव, भारी प्रतिबन्ध र रुस–युक्रेन युद्धमा उत्तर कोरियाको समर्थनका कारण बढेको असन्तुष्टि कम गर्ने रणनीति भएको अनुमान गरेका छन् । किमले विगत पाँच वर्षमा मुलुकले भोगेका कठिनाइ पार गर्दै भविष्यमा ‘आशावाद र विश्वास’ को नयाँ चरणमा प्रवेश गरेको बताए ।

    सम्मेलनमा हजारौँ पार्टी अधिकारी उपस्थित थिए, जहाँ किम परिवारको दशकौँ लामो शासनकालमा नौ पटक मात्र पार्टी कङ्ग्रेस सम्पन्न भएको थियो । किमले आफ्नो व्यक्तित्वको सम्प्रदायलाई बलियो बनाउन र सत्तामा आफ्नो पकड प्रदर्शन गर्न सम्मेलनलाई प्रयोग गरेका छन् । सियोलको गुप्तचर सेवाका अनुसार, उत्तराधिकारीका रूपमा उहाँकी किशोरी छोरी जु एमा विशेष ध्यान दिइनेछ ।

    अन्तर्राष्ट्रिय सन्दर्भमा, चीन र रुसले मैत्रीपूर्ण सन्देश पठाएका छन् । किमले गत वर्ष बेइजिङमा चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग देखा पर्नु, उहाँको विश्व राजनीतिमा उच्च स्थिति र कूटनीतिक सञ्जालको सङ्केत हो । पाँच वर्षअघि किमले संयुक्त राज्य अमेरिका ‘सबैभन्दा ठूलो शत्रु’ घोषणा गरेका थिए । तर अहिलेसम्म उच्च–स्तरीय कूटनीतिक वार्ता पुनः सुरु गर्ने प्रयासलाई सीमित राखेका छन् ।

    यो सम्मेलनले उत्तर कोरियाली नेतृत्वको आन्तरिक नीति र अन्तर्राष्ट्रिय रणनीतिक स्थितिको झलक प्रदान गर्दै किम जोङ उनको सत्तामा स्थायित्व र जनताको जीवनस्तर सुधार्ने लक्ष्यलाई प्राथमिकता दिने स्पष्ट सङ्केत दिएको छ ।

  • देशभरका ६ हजार ७४३ वडामा मतदाता शिक्षा जारी

    देशभरका ६ हजार ७४३ वडामा मतदाता शिक्षा जारी

    काठमाडौँ । आमनागरिकलाई मताधिकारको महत्त्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले स्वीकृत कार्यक्रमअनुसार देशभरका ६ हजार ७४३ वटै वडामा मतदाता शिक्षा कार्यक्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

    आयोगले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा यही फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वटै वडामा एकएक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको जानकारी गराइएको हो ।

    आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे मतदातालाई जानकारी गराउने कार्य खटिएका स्वयंसेवकबाट भइरहेको आयोगका प्रवक्ता सीता पुन श्रीसले जानकारी दिइन् ।

    मतदाता शिक्षा कार्यक्रम प्रयोजनका लागि आयोगले स्थानीय तहमा यसअघि तोकेका सम्पर्क व्यक्तिलाई नै निर्वाचन मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ता तोकी अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न भइसकेको छ ।

    निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला जिल्लामा

    प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पूर्वतयारी निर्वाचन आयोगले अन्तिम चरणमा पुर्याएको छ । आयोगबाट स्वीकृत कार्यतालिकाअनुसार व्यवस्थापकीय कार्यतालिकाबद्ध र तोकिएको समयमा सञ्चालित छन् । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्र छपाइ सम्पन्न भई सम्बन्धित जिल्लाहरूमा पठाउने कार्य जारी छ ।

    निर्वाचन सामग्री अधिकांश जिल्लामा पुर्याइसकिएको छ । स्वीकृत कार्यक्रमअनुसार मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम फागुन ३ देखि १७ गतेसम्म ७५३ स्थानीय तहका छ हजार ७४३ वडामा निरन्तर सञ्चालित छ । निर्वाचन आचारसंहिता अनुगमन एवं परिपालनामा निरन्तरता दिँदै केन्द्रीय आचारसंहिता अनुगमन समितिलगायतका संयन्त्रहरूले सक्रिय रूपमा कार्यसम्पादन गर्दै आएका छन् ।

    यही फागुन ४ गतेदेखि राजनीतिक दलहरूले चुनावको मुख्य प्रचारप्रसारका गतिविधि सुरुआत गरेका छन् । प्रचारप्रसारलाई प्रचलित कानुन र आचारसंहिताको अधीनमा रही शिष्ट र मर्यादित बनाउन आयोगबाट राजनीतिक दल र उम्मेदवारहरूलाई निर्देशन भइसकेको छ ।

    ‘डिजिटल प्लेटफर्म’ बाट प्रचारप्रसार जारी

    निर्वाचन शिक्षा प्रदान गर्ने उद्देश्यले आयोगको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गतको मतदाता शिक्षा एकाइले हालसम्म ३४५ वटा सामग्री आयोगबाट स्वीकृत गराई आयोगको आधिकारिक फेसबुक पेज, एक्स, टिकटक र युट्युबमा राखिएको पनि उनले बताइन् ।

    मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला लक्षित यस्ता सामग्रीले निर्वाचनको स्वच्छता बढाउने र नागरिकलाई आधिकारिक तथा विश्वसनीय सूचना प्राप्त हुने र मिथ्या तथा भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरणमा सहयोग पुग्ने विश्वास आयोगले लिएको छ । यस्ता सामग्रीले डिजिटल प्लेटफर्मबाट समेत मतदाता शिक्षा कार्यक्रम प्रवर्द्धन र नागरिक तथा आमसरोकारवालाले आधिकारिक सूचना पाउने अपेक्षा आयोगको रहेको सहायक प्रवक्ता श्रीसले बताइन् ।

    संवादमूलक सन्देश प्रसारण

    मतदाता शिक्षा कार्यक्रम प्रवर्द्धनका लागि आयोगले उत्पादन गरेका संवादमूलक भिडिओ सन्देश, गीति सन्देश, लघु भिडिओ तथा जिङ्गलहरू प्रसारण सुरु गरेको छ । यस्ता सामग्री आयोगका आधिकारिक डिजिटल प्लेटफर्मबाट प्रसारण भइरहेका छन् ।

    मतदातालाई निर्वाचनमा सहभागी हुन प्रेरित गर्ने, निर्वाचन स्वच्छता बढाउने तथा निर्वाचन आचारसंहिता पालनाका लागि उत्प्रेरित गर्ने सन्देशमूलक सामग्रीबाट मतदान प्रतिशत बढाउने तथा बदर मत प्रतिशत घटाउन भूमिका खेल्ने आयोगको अपेक्षा छ ।

    कलाकारहरूसँग सहकार्य

    आसन्न निर्वाचनको प्रचारप्रसार र मतदाता शिक्षालाई थप प्रभावकारी बनाउन आयोगले राष्ट्रिय कलाकार, सोसल मिडियाका कन्टेन्ट क्रियटर र इन्फ्लुयन्सरसँग सहकार्यका लागि छलफल गरेको छ । विशिष्ट परिस्थितिमा हुन गइरहेको निर्वाचनको महाउत्सवलाई सहयोग पुर्‍याउन आयोगले गरेको आग्रहलाई स्वीकार गर्दै सहभागी कलाकारहरूले मतदाता शिक्षा तथा निर्वाचन स्वच्छता प्रवर्द्धन र मिथ्या सूचना न्यूनीकरणका लागि सत्यतथ्य जानकारी आम मतदातासम्म पुर्याउन आफ्ना डिजिटल प्लेटफर्ममा सन्देश प्रवाहको प्रतिबद्धता जनाएका छन् ।

    जिल्ला–जिल्लामा पुर्याइँदै मतपत्र

    प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भएको व्यहोरा सर्वविदितै छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको उनकाे भनाइ छ ।

    गत माघ २९ गतेदेखि कर्णाली प्रदेशबाट मतपत्र ढुवानी सुरु गरी सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा ढुवानी कार्य सम्पन्न भइसकेको छ । अन्य प्रदेशहरूमा ढुवानी कार्य जारी छ । मतपत्रबाहेकका अन्य निर्वाचन सामग्री ढुवानी सम्पन्न भइसकेको आयोगले जनाएको छ ।

    मतपत्र छपाइतर्फ आयोगले तोकेको कार्यतालिकाअनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा गत पुस २२ गतेदेखि मतदाता शिक्षा प्रयोजनका लागि छपाइ सुरु भएको थियो । जसअनुसार १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरिएको थियो । गत पुस २६ गतेदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी माघ १३ गतेसम्म आवश्यक पर्ने जम्मा दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरिएको आयोगले जनाएको छ ।

  • चितवनमा दुई अस्थायी मतदान केन्द्र

    चितवनमा दुई अस्थायी मतदान केन्द्र

    चितवन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ दुई अस्थायी मतदान केन्द्र थपिने भएका छन् । निर्वाचन कार्यालय भरतपुरका अनुसार स्थायी रूपमा रहेका मतदान केन्द्रबाहेक कारागार कार्यालय चितवन र जिल्ला समन्वय समिति चितवनमा दुई अस्थायी मतदान केन्द्र राख्न थालिएको हो ।

    कारागार कार्यालयमा रहेका कैदीबन्दीका लागि कारागारमा र मतदान केन्द्रमा नखटिएका सुरक्षाकर्मी तथा सरकारी कर्मचारीका लागि जिल्ला समन्वय समितिमा अस्थायी मतदान केन्द्र राख्न लागिएको निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए ।

    कारागारमा ११५ जना मतदाता रहेका छन् । जिल्लामा दुई हजार ९७६ कर्मचारी निर्वाचनमा खटिने छन् । यहाँ स्थायी मतदान केन्द्र ४९४ वटा कायम गरिएकामा अस्थायी मतदान केन्द्र स्थापना भएसँगै मतदान केन्द्र ४९६ पुगेका छन् । कार्कीका अनुसार जिल्लामा १६२ मतदानस्थल कायम गरिएकामा दुई स्थल थपिएको छ । जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन् । यसमा दुई लाख १७ हजार ३१४ पुरुष र दुई लाख २४ हजार ७६६ महिला एवं दुई जना तेस्रोलिङ्गी रहेका छन् ।

  • शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन : प्रधानमन्त्री कार्की

    शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन : प्रधानमन्त्री कार्की

    पाेखरा । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन् ।

    शुक्रबार पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले समकालीन समाजको आवश्यकताअनुसार सीप, रोजगारी, उद्यमशीलता, नवप्रवर्तन तथा नैतिकवान् जनशक्ति उत्पादनतर्फ उन्मुख हुनुपर्नेमा जोड दिइन् ।

    नवीन प्रविधि विकास, अनुसन्धानमा आधारित प्राज्ञिक क्रियाकलापमा बढावा दिनु आवश्यक रहेको भन्दै उनले विश्वविद्यालयका कार्यक्रमलाई अर्थतन्त्र सुदृढीकरणसँग प्रत्यक्ष जोड्न सक्नुपर्नेमा जोड दिइन् । आर्थिक समृद्धि र मानव कल्याणसँग जोड्न नसकिए ज्ञान वा पाठ्यक्रम सन्दर्भहीन हुने उनको भनाइ थियो ।

    “विश्वविद्यालयको अध्ययन पूरा गर्नासाथ ठूलो सङ्ख्यामा युवा विदेशतर्फ आकर्षित हुनु हाम्रो साझा चिन्ताको विषय हो । त्यसैले नवीन प्रविधि र तीव्र गतिमा बदलिँदो विश्व परिवेशमा आफूलाई कसरी अनुकूल बनाउने, कसरी प्रतिस्पर्धी र सक्षम बनाउनेतर्फ विद्यार्थी र विश्वविद्यालय दुवै केन्द्रित हुन आवश्यक छ”, प्रधानमन्त्री कार्कीले भनिन्।

    उनले परिवर्तनलाई अवसरका रूपमा ग्रहण गर्दै नवप्रवर्तन र उद्यमशीलताको बाटो समात्नु वर्तमान समयको अनिवार्य आवश्यकता भइसकेको बताइन् । स्थापनाकालदेखि नै पोखरा विश्वविद्यालयले व्यवस्थापन, विज्ञानलगायतका क्षेत्रमा उच्च शिक्षाको पहुँच विस्तारमा उल्लेखनीय योगदान पुर्याउँदै आएको भन्दै उनले प्रशंसा गरिन् ।

    “अब गुणस्तरीयतामा ध्यान केन्द्रित गर्दै विश्व बजारको माग अनि प्रतिस्पर्धामा खरो उत्रन सक्ने जनशक्ति र ज्ञानको उत्पादनमा विशेष मेहनत गर्नुपर्ने देखिन्छ”, प्रधानमन्त्री कार्कीले भनिन्,“दीक्षार्थीले प्राप्त गर्नुभएको प्रमाणपत्र रोजगारीको आधार मात्र होइन, यो नेपाली समाज र राष्ट्रका जटिल समस्या पहिचान गरी तिनका दीर्घकालीन समाधान खोज्न सक्ने क्षमताको द्योतक पनि हो । त्यसमा सफल बन्नुपर्छ ।”

    प्रधानमन्त्री कार्कीले आजको युगमा युवा नै राजनेता, प्रशासक, नीति–निर्माता र समाज रूपान्तरणका अभियन्ता रहेको भन्दै त्यसको जग आजैबाट मजबुत बनाउनुपर्ने धारणा राखिन् । उनले गत भदौ २३ र २४ गते जेनजी युवाले उठाएका आवाजहरू पनि धेरै गहन र आधारभूत सवालसँग जोडिएका बताइन्।