चितवन, सौराहा — चितवनको पर्यटकीय नगरी सौराहामा हरेक वर्ष आयोजना हुँदै आएको चितवन हात्ती तथा पर्यटन महोत्सव यस वर्ष पुस ११ देखि १३ गतेसम्म हुने भएको छ। महोत्सवको आयोजना क्षेत्रीय होटल सङ्घ नेपाल चितवनले गर्नेछ भने युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था सहआयोजक रहनेछ।


विसं २०५५ बाट सुरु भएको यस महोत्सवमा यस वर्ष पनि हात्ती श्रृङ्गार, हात्ती वनभोज, हात्ती स्वास्थ्य शिविर, र हात्तीको दैनिकीबारे जानकारीलगायत कार्यक्रम समावेश गरिने संयोजक गुणराज थपलियाले जानकारी दिए। उनका अनुसार यसपटक ८० वटा हात्ती सहभागी हुनेछन्।
महोत्सवमा पालिकास्तरीय डुङ्गा दौड, हात्ती–मैत्री प्रतियोगिता, तथा जिप, हात्ती र डुङ्गा सफारीमार्फत सफारी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य रहेको छ। साथै, चित्रकला प्रतियोगिता, मानव–वन्यजन्तु सहअस्तित्व, तथा पर्यापर्यटन र संरक्षणमा हात्तीको भूमिकाबारे विद्यालयस्तरीय वक्तृत्व प्रतियोगिता पनि हुनेछन्।
महोत्सवले २५ देखि ३० प्रतिशत पर्यटक वृद्धि गराउने अपेक्षा गरेको छ। महोत्सव अवधिमा सौराहाका होटल तथा रेस्टुरेन्टहरूले आगन्तुकका लागि १० प्रतिशत छुट दिने सहमति भएको क्षेत्रीय होटल सङ्घका अध्यक्ष ओमप्रकाश पाण्डेले बताए। उनका अनुसार महोत्सवका लागि २५ स्टल रहनेछन् र करिब २० हजार दर्शक आउने अनुमान गरिएको छ।
विश्वप्रसिद्ध चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहा भएकाले यहाँ आउने पर्यटकलाई महोत्सवले थप आकर्षित गर्ने विश्वास आयोजकहरूको छ। कम पर्यटक आउने समयमा पर्यटन गतिविधि बढाउन तथा स्थानीय रोजगार सिर्जनामा महोत्सव सहयोगी हुने अपेक्षा गरिएको छ।









