Category: समाचार

  • दुई पाडीबाट आचार्यले थालेको भैँसीपालन व्यावसायिकतातर्फ

    दुई पाडीबाट आचार्यले थालेको भैँसीपालन व्यावसायिकतातर्फ

    गण्डकी। आजभन्दा सात वर्षअघि पोखरा महानगरपालिका–३३ भरतपोखरीका रमेश आचार्यले दुई पाडीबाट सुरु गरेको भैँसीपालनले यतिखेर व्यावसायिक रूप लिएको छ । समाजमा कृषिप्रतिको नकारात्मक सोच कायमै रहेका समयमा स्नातकोत्तरसम्मको अध्ययन गरेका उनले भरतपोखरीस्थित सुरौदीको तिखेढुङ्गामा दुई पाडी पाल्न सुरु गरेका थिए ।

    आचार्यलाई तत्कालीन समयमा आफ्नै छिमेकी, इष्टमित्रसमेतले के गरेको होला भनेर होच्याउँथे, कुरा काट्ने गर्थे । तर समय बदलिएको छ, त्यसबेला होच्याउने र खिस्सीट्युँरी गर्नेहरू अहिले भने उनको फस्टाइरहेको भैँसीपालनसहितको व्यावसायिक कृषि कर्म देखेर लोभिएका छन् । भैँसीपालनले व्यावसायिक रूप लिँदा आचार्य आफैँ आफ्नो पेसाप्रति गौरवान्वित छन् । पाडी पाल्न सुरु गर्दा तिखेढुङ्गामा केवल झाडीमात्र रहेको र त्यसलाई फाँडेर पाल टाँगेर बसेको उनले अनुभव सुनाए ।

    “वरपर जङ्गलको बीचमा पाल टाँगेर मैले यो व्यवसाय सुरु गरेको हुँ”, आचार्यले भने, “पछि गोठ तथा धन्सार बनाएर त्यसलाई व्यवस्थित गर्दै लगेँ, अहिले गोठमा ३० भैँसी छन् ।”

    पछिल्ला समयमा हरेक वर्ष लैनो भैँसी बेच्ने गरेको आचार्यले बताए । उनले अघिल्लो वर्ष १८ लैनो भैँसी बेचे । भैँसी बिक्री गर्न समस्या छैन । सामान्यतः एउटा लैनो भैँसी रु एक लाखसम्ममा बिक्री हुने गरेको छ । स्नातक तहसम्मको अध्ययन गरेका आचार्य आफ्नो १० वर्षको शिक्षण पेसा, तीन वर्षको वैदेशिक रोजगारीसँगै विद्युत् प्राविधिकसमेतको अनुभव सँगाल्दै अहिले पूर्ण रूपमा व्यावसायिक कृषिमा लागेका छन् ।

    विसं २०७८ मा तिखेढुङ्गा बागमारा पशुपालन तथा कृषि फार्म दर्ता गरी व्यावसायिक कृषि कर्ममा लागेका आचार्यले भैँसीपालनसँगै व्यावसायिक रूपमा तरबुजाखेतीसहित तरकारी, फलफूल तथा विभिन्न कृषिजन्य उत्पादन गर्दै आएका छन् । फार्ममा उनले हाल मकैखेती, तरबुजा, काँक्रो, लसुन, प्याजलगायत गरिरहेका छन् । आचार्यले सुरुमा २०७६ सालमा साना किसानबाट रु तीन लाख ऋण लिएर व्यावसायिक कृषि थालेकामा पछि फार्म दर्ता भएपश्चात कृषि विकास बैंकबाट ऋण लिएर आफ्नो व्यावसायिक यात्रा सुरु गरेका हुन् ।

    व्यावसायिक कृषिमा नयाँनयाँ प्रयोग गर्न रुचाउने आचार्यले सुरुमा १५–२० बोट तरबुजाखेती परीक्षणका रूपमा गरे । अर्को वर्ष दुई रोपनी क्षेत्रफलमा थपे । राम्रो उत्पादन दिएपछि अघिल्लो वर्ष करिब ३५ रोपनी क्षेत्रफलमा संयुक्त रूपमा उक्त खेती गरे । श्रीमती धनलक्ष्मी, स्नातक तहमा अध्ययनरत छोराछोरीको साथले आचार्य आफ्नो कृषिकर्मप्रति उत्साहित छन् । सुरौदी खोलाको बाढीले बर्सेनि कटान भइरहेकाले नियन्त्रणसँगै यहाँको पानीलाई सिँचाइका लागि उपयोग गरिनुपर्ने उनी बताउँछन् ।

    खोलामा पक्की पुल तथा बाटो व्यवस्थित नहुँदा दूध बजारसम्म पुर्याउन नसकिएको आचार्यले दुखेसो गरे । बाँदरको समस्या सुरौदीमा पनि उस्तै छ । फार्ममा उत्पादित कृषिजन्य वस्तु भरतपोखरीमा नै खपत हुने गरेको आचार्यको भनाइ छ । सुरौदीसम्मको बाटो थप व्यवस्थित गर्नुका साथै टुनिखोलामा पुल बन्न सके उत्पादित वस्तु पोखरा तथा तनहुँको दुलेगौँडा पुर्याउन सहज हुने उनले बताए ।

    सुरौदी खोला क्षेत्रमा पानीको स्रोत भएर पनि त्यसलाई व्यवस्थित गर्न नसक्दा सिँचाइको असुविधा भोग्नुपरेको आचार्य बताउँछन् । व्यवस्थित गर्न सके मात्रै पनि यहाँ उपलब्ध पानीको स्रोतलाई उत्पादनसँग जोड्न सकिने उनले बताए । सुरौदी खोलाको कटान नियन्त्रण हुन नसक्दा उब्जाउयोग्य जमिन बर्सेनि बगरमा परिणत हुँदै जाँदा जलाधार क्षेत्रका स्थानीयवासी समस्यामा परेको आचार्यको भनाइ छ ।

  • ओलीले भनेः आफूले नजित्ने देखेपछि चुनाव भाँड्न खोज्यो

    ओलीले भनेः आफूले नजित्ने देखेपछि चुनाव भाँड्न खोज्यो

    काठमाडौँ, फागुन ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन भाँड्ने काम गरेको आरोप लगाएका छन्।

    शनिबार बिहान झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाङमा एमालेको सूर्य चिह्न भएको झन्डा जलाएको विषय घटनामा रास्वपालाई दोष दिएका हुन्।

    उनले भने, ‘रास्वपाले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित नदेखेपछि योजनाबद्ध रूपमा निर्वाचन भाँड्ने र वातावरण बिगार्ने खेल सुरु गरेको छ।’

    रास्वपाका कार्यकर्ताले अन्य राजनीतिक दलका झन्डाप्रति अभद्र र अमर्यादित व्यवहार देखाउने, चुनावी प्रचारप्रसारमा अवरोध गर्ने र समाजमा तनाव सिर्जना गर्ने काम गरिरहेको आरोप ओलीले लगाएका छन्।

  • गोरखामा बसको ठक्करबाट ९५ वर्षीया वृद्धाको मृत्यु

    गोरखामा बसको ठक्करबाट ९५ वर्षीया वृद्धाको मृत्यु

    गोरखा । गोरखामा यात्रुवाहक बसको ठक्करबाट ९५ वर्षीया वृद्धाको मृत्यु भएको छ । शनिबार दिउँसो २ बजे गोरखा नगरपालिका वडा नं १२ स्थित दशकिलो बजारमा बसले ठक्कर दिँदा स्थानीय ९५ वर्षीया सुकमाया लामाको मृत्यु भएको हो ।

    काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको ना ५ ख ५०३० नं को बसले ठक्कर दिँदा गम्भीर घाइते लामाको उपचारका क्रममा प्रदेश अस्पताल गोरखामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।
    प्रहरीले चालक र सवारी साधनलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

     

  • नेकपा संयुक्त चितवन ३ का उम्मेदवार जित बहादुर सुनार नेकपा प्रवेश

    नेकपा संयुक्त चितवन ३ का उम्मेदवार जित बहादुर सुनार नेकपा प्रवेश

    भरतपुर ८ फागनु । नेकपा संयुक्त चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार जित बहादुर सुनार नेपाली कम्युनिष्ट पार्टी नेकपा प्रवेश गरेका छन् ।शुक्रबार भरतपुरमा भएका एक कार्यक्रमका बीच नेकपा संयुक्त परित्याग गरी सुनार नेकपा प्रवेश गरेका हुन् ।

    सुनारलाई नेपाली कम्युनिष्ट पार्टीका नेता तथा चितवन निर्वाचन क्षेत्र नम्बर ३ का चुनावी कमाण्डर ईश्वरी भट्टराईले टिका तथा खादा लगाएर स्वागत गरेका थिए ।

    सो अवसरमा प्रवेशी सुनारले कम्यूनिष्ट आन्दोलनको एकीकरण र विकास प्रेमी रेनु दाहालको विजयी यात्रामा सहयोग पूर्याउन आफूले उमेद्वारी फिर्ता लिई नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेको बताउँदै आजैबाट तारा चुनाव चिन्हमा मत माग्दै रेनु दिदी विजयी अभियानमा दृढताका साथ लाग्ने बताए । नेकपा संयुक्तका अन्य साथीहरूलाई पनि प्रवेश गराउदै जाने बताए ।

    सो अवसरमा चितवन क्षेत्र नम्बर ३ का सशक्त उम्मेदवार रेनु दाहालले प्रत्यासी उम्मेदवार सुनारले आफ्नो उम्मेदवारी फिर्ता लिदै सहयोग गर्नुभएकोमा धन्यवाद दिदै नपाली कम्युनिष्ट पार्टीमा स्वागत गरिन् ।

    पार्टी प्रवेश कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेता तथा निर्वाचन क्षेत्र नम्बर ३ का ईन्चार्ज इश्वरी भट्टराई, चितवन जिल्ला ईन्चार्ज घनश्याम दाहाल, जिल्ला संयोजक रामचन्द्र अधिकारी लगायतका नेताहरूको उपस्थिती रहेको थियो ।सुनारको उमेद्वारी फिर्ता र पार्टीमा समाहित सँगै चितवन क्षेत्र न ३ मा विकास प्रेमी उम्मेदवार रेनु दाहालको जित निश्चित हुँदै गएको छ ।

  • चितवनमा दुई अस्थायी मतदान केन्द्र

    चितवनमा दुई अस्थायी मतदान केन्द्र

    चितवन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ दुई अस्थायी मतदान केन्द्र थपिने भएका छन् । निर्वाचन कार्यालय भरतपुरका अनुसार स्थायी रूपमा रहेका मतदान केन्द्रबाहेक कारागार कार्यालय चितवन र जिल्ला समन्वय समिति चितवनमा दुई अस्थायी मतदान केन्द्र राख्न थालिएको हो ।

    कारागार कार्यालयमा रहेका कैदीबन्दीका लागि कारागारमा र मतदान केन्द्रमा नखटिएका सुरक्षाकर्मी तथा सरकारी कर्मचारीका लागि जिल्ला समन्वय समितिमा अस्थायी मतदान केन्द्र राख्न लागिएको निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए ।

    कारागारमा ११५ जना मतदाता रहेका छन् । जिल्लामा दुई हजार ९७६ कर्मचारी निर्वाचनमा खटिने छन् । यहाँ स्थायी मतदान केन्द्र ४९४ वटा कायम गरिएकामा अस्थायी मतदान केन्द्र स्थापना भएसँगै मतदान केन्द्र ४९६ पुगेका छन् । कार्कीका अनुसार जिल्लामा १६२ मतदानस्थल कायम गरिएकामा दुई स्थल थपिएको छ । जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन् । यसमा दुई लाख १७ हजार ३१४ पुरुष र दुई लाख २४ हजार ७६६ महिला एवं दुई जना तेस्रोलिङ्गी रहेका छन् ।

  • शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन : प्रधानमन्त्री कार्की

    शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन : प्रधानमन्त्री कार्की

    पाेखरा । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन् ।

    शुक्रबार पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले समकालीन समाजको आवश्यकताअनुसार सीप, रोजगारी, उद्यमशीलता, नवप्रवर्तन तथा नैतिकवान् जनशक्ति उत्पादनतर्फ उन्मुख हुनुपर्नेमा जोड दिइन् ।

    नवीन प्रविधि विकास, अनुसन्धानमा आधारित प्राज्ञिक क्रियाकलापमा बढावा दिनु आवश्यक रहेको भन्दै उनले विश्वविद्यालयका कार्यक्रमलाई अर्थतन्त्र सुदृढीकरणसँग प्रत्यक्ष जोड्न सक्नुपर्नेमा जोड दिइन् । आर्थिक समृद्धि र मानव कल्याणसँग जोड्न नसकिए ज्ञान वा पाठ्यक्रम सन्दर्भहीन हुने उनको भनाइ थियो ।

    “विश्वविद्यालयको अध्ययन पूरा गर्नासाथ ठूलो सङ्ख्यामा युवा विदेशतर्फ आकर्षित हुनु हाम्रो साझा चिन्ताको विषय हो । त्यसैले नवीन प्रविधि र तीव्र गतिमा बदलिँदो विश्व परिवेशमा आफूलाई कसरी अनुकूल बनाउने, कसरी प्रतिस्पर्धी र सक्षम बनाउनेतर्फ विद्यार्थी र विश्वविद्यालय दुवै केन्द्रित हुन आवश्यक छ”, प्रधानमन्त्री कार्कीले भनिन्।

    उनले परिवर्तनलाई अवसरका रूपमा ग्रहण गर्दै नवप्रवर्तन र उद्यमशीलताको बाटो समात्नु वर्तमान समयको अनिवार्य आवश्यकता भइसकेको बताइन् । स्थापनाकालदेखि नै पोखरा विश्वविद्यालयले व्यवस्थापन, विज्ञानलगायतका क्षेत्रमा उच्च शिक्षाको पहुँच विस्तारमा उल्लेखनीय योगदान पुर्याउँदै आएको भन्दै उनले प्रशंसा गरिन् ।

    “अब गुणस्तरीयतामा ध्यान केन्द्रित गर्दै विश्व बजारको माग अनि प्रतिस्पर्धामा खरो उत्रन सक्ने जनशक्ति र ज्ञानको उत्पादनमा विशेष मेहनत गर्नुपर्ने देखिन्छ”, प्रधानमन्त्री कार्कीले भनिन्,“दीक्षार्थीले प्राप्त गर्नुभएको प्रमाणपत्र रोजगारीको आधार मात्र होइन, यो नेपाली समाज र राष्ट्रका जटिल समस्या पहिचान गरी तिनका दीर्घकालीन समाधान खोज्न सक्ने क्षमताको द्योतक पनि हो । त्यसमा सफल बन्नुपर्छ ।”

    प्रधानमन्त्री कार्कीले आजको युगमा युवा नै राजनेता, प्रशासक, नीति–निर्माता र समाज रूपान्तरणका अभियन्ता रहेको भन्दै त्यसको जग आजैबाट मजबुत बनाउनुपर्ने धारणा राखिन् । उनले गत भदौ २३ र २४ गते जेनजी युवाले उठाएका आवाजहरू पनि धेरै गहन र आधारभूत सवालसँग जोडिएका बताइन्।

  • चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

    चितवन। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र नं. ३ मा चुनावी माहोल तातिएको छ । यसैक्रममा उम्मेदवार रेनु दाहालले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएकी छन् ।

    निवर्तमान भरतपुर महानगरपालिकाकी मेयरसमेत रहेकी दाहाल यतिबेला गाउँ–गाउँ पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेकी छन् । घरदैलो कार्यक्रममार्फत स्थानीयका गुनासा, समस्या र सुझावहरू संकलन गर्दै उनी विकासका स्पष्ट एजेण्डासहित मत मागिरहेकी छन् ।
    भरतपुर वडा नं. २६ लहुरेचोकबाट घरदैलो सुरु गर्दै वडाका सबै टोल टोलपुगेर आफू नयाँ अनुहार नभई काम गरेर देखाइसकेको व्यक्ति भएको भन्दै जनतासँग गरेको वाचा पूरा गरिछाड्ने बताइन् ।
    भरतपुरमा बाटोघाटो, जंगली जनावर रोकथाम, मेसजाली फाउन्डेसन तथा नारायणी तटबन्धजस्ता ठूला योजना सम्पन्न भएको बताउँदै दाहालले भनिन्, “लगातार ९ वर्षसम्म महानगरको नेतृत्व गरेकाले मेरो काम यहाँका मतदाताले बुझ्नुभएको छ, त्यसैले मतदाताले परिणाम मेरो पक्षमा दिनुहुनेमा म विश्वस्त छु ।” उनले चितवन निकुञ्ज पीडितको स्थायी समाधान, सुकुमबासीलाई लालपुर्जा, र प्राविधिक शिक्षालाई विशेष जोड दिइएको स्पष्ट पारिन् । कृषि, पर्यटन र शिक्षाका मुद्दालाई जोडेर चितवनको विकास गर्ने आफ्नो एजेन्डा रहेको भन्दै निकुञ्ज ऐनमा संशोधनगरि नयाँ ऐन ल्याउनुपर्ने बताईन् ।

    मतदातासँगको भेटघाटका क्रममा धेरै स्थानमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको दाहालको दाबी छ। “विकासले निरन्तरता पाउनुपर्छ भन्ने जनताको चाहना देखिएको छ,” उनले बताइन् । कतिपय मतदाताले पुनः निर्वाचित गराएर पठाउने प्रतिबद्धता व्यक्त गरेपछि दाहाल थप उत्साहित देखिएकी छन् । उनले स्थानीय पूर्वाधार विकास, कृषि आधुनिकीकरण, महिला सशक्तीकरण, युवा स्वरोजगार तथा उद्यमशीलता प्रवद्र्धनलाई आफ्नो प्राथमिकतामा राखेकी छन्। आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि साना तथा मझौला उद्यमलाई प्रोत्साहन गर्ने योजनासमेत उनले अघि सारेकी छन् ।

    चितवन–३ मा मत परिवर्तनको सम्भावना न्यून देखिएको र दाहालका पक्षमा माहोल बलियो बन्दै गएको ‘रेनु जिताउ’ अभियानमा सक्रिय सन्तोष देउजाले बताए । चुनाव नजिकिँदै जाँदा चितवन–३ मा उम्मेदवार दाहालको सक्रियता र जनसम्पर्क अभियानले थप ऊर्जा पाएको देखिन्छ । अब मतदाताको अन्तिम निर्णयले क्षेत्रको राजनीतिक भविष्य निर्धारण गर्नेछ ।

  • आसन, भाषण र शासनमा सुधार गर्छौं: विश्वप्रकाश शर्मा

    आसन, भाषण र शासनमा सुधार गर्छौं: विश्वप्रकाश शर्मा

    काठमाडौँ, फागुन ४। नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्माले बदलिएको कांग्रेसले देशको आसन, भाषण र शासनमा सुधार गर्ने बताएका छन् ।

    चुनावी प्रचारको पहिलो दिन लमजुङको जिल्ला कार्यालय उद्घाटनपछि शर्माले सत्तामा एउटै व्यक्तिले निरन्तर आसन जमाउने परम्परा तोड्न कांग्रेसले १, २, ३, ४ को नीति लिएको बताए ।

    बदलिएको कांग्रेसले अब देशको आसन, भाषण र शासनमा सुधार गर्नेछ, शर्माले भने, कुनै पनि व्यक्ति सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काएर, हामी १, २, ३, ४ को नीति संविधानमा अंकित गर्नेछौँ । अब उप्रान्त कोही पनि प्रधानमन्त्री र मुख्यमन्त्री दुईपटकभन्दा बढी रहन पाउने छैनन् ।’

    कांग्रेसले विशेष महाधिवेशनबाट एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटकसम्म मन्त्री र चारपटकसम्म मात्र सांसद बन्न पाउने नीति पारित गरेको छ । चुनावी मैदानमा जस्तोसुकै आश्वासन दिने परम्पराले जनतामा निराशा बढाएको शर्माको भनाइ छ । सम्भव विषय मात्र राख्न उमेदवारलाई उनले आग्रह गरे ।

  • रविको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता हुँदैनः कास्की अदालत

    रविको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता हुँदैनः कास्की अदालत

    काठमाडौं, फागुन ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने भएको छ ।

    सोमबार लामिछानेको मुद्दा फिर्ता सम्बन्धी निवेदनमाथि सुनुवाइ गर्दै जिल्ला अदालत कास्कीका न्यायाधीश नितिश राईको इजलासले तत्काल मुद्दा फिर्ता नहुने आदेश दिएको हो।

    महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन् । आधारमा जिल्ला सरकारी वकिलको कार्यालयलाई परिपत्र गरेको थियो। जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले मुद्दा फिर्ताका लागि जिल्ला अदालतमा निवेदन दिएको थियो ।

    यसमाथि सुनुवाइ गर्दै यस सम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट निर्णय भएपछि मात्रै निर्णय हुने जिल्ला अदालतले आदेश गरेको हो।